नेपाली मूलका विदेशीलाई अब छुट्टै डेस्क

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली .एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ ।

विश्वमा रहेका नेपाली मूलका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरुले आफूहरु सम्मानित भएको महसुुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ ।’