सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो । उक्त सडक स्तरोन्नतिका लागि रु ३६ करोड ३० लाख ९९ हजारमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।

सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताउनुभयो ।

 सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिनेछ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।