असिनासहितकाे पानीले हवाइ उडान अवरुद्ध

काठमाडौं । देशका धेरै स्थानमा अहिले पानी परिरहेको छ। काठमाडौंमा पनि अन्धकारसहित मेघगर्जन र असिनापानी भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले आज अपराह्न केही तराई जिल्लामा हुरीसहित असिनापानीका कारण मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण काठमाडौँ उपत्यकामा जनजीवन सामान्य प्रभावित बनेको छ।

खराब मौसमका कारण आन्तरिक उडानहरू पनि प्रभावित भएका छन्। पश्चिम नेपालमा सक्रिय हावाहुरी र खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उडानहरू रद्द गरिएको छ। उडानका लागि विमानमा चढिसकेका यात्रुहरूलाई पुनः ओरालेर फर्काइएको सुरक्षा कार्यालयले जानकारी दिएको छ।

यस्तै, काठमाडौं–नेपालगन्ज रुटमा सञ्चालन हुने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडानहरू रद्द भएका छन्। भैरहवाका लागि यति एयरलाइन्सको उडान ढिलाइ भएको छ भने सुर्खेतका लागि निर्धारित उडान पनि रद्द गरिएको छ।

पश्चिमी वायु सक्रिय भएसँगै लुम्बिनी प्रदेशसहित पश्चिमका विभिन्न जिल्लामा दिउँसै हावाहुरीसहित वर्षा भइरहेको छ। चट्याङ र मेघगर्जनसमेत भइरहेकाले विमानस्थलले उडानहरू धमाधम रद्द भएको जनाएको छ।