काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।
हिजाे साँझ बसेको रास्वपाको शीर्ष तहको बैठकले प्रधानमन्त्रीको शपथका लागि उक्त मिति तय गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए।
यसअघि बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने निर्णय गरिसकेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि उक्त मिति तय गरिएको हो।
सांसदहरूले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने गरी तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ।
प्रतिनिधि सभाको सदस्य शपथको मिति टुंगिएसँगै रास्वपाका शीर्ष नेताहरू प्रधानमन्त्री चयन र सरकार गठनबारे छलफलमा केन्द्रित भएका हुन्।
यसबीच रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा शीर्ष नेताहरूको छलफलको तस्बिर सार्वजनिक गर्दै ‘राजकाज स् आज साँझको छलफल’ उल्लेख गरेका छन्।









प्रतिक्रिया