चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाएको घटना अनुसन्धान गर्न समिति गठन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

सफाइको क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले यस विषयमा चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो । गृहले मोरङका सहायक सीडीओ सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि समिति सदस्य रहेका छन् ।

​शनिबार साँझ फोहोर जलाएको भिडिओमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो । विश्वविद्यालयले ल्याव निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको जवाफ पठाएको छ ।

आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी समितिलाई १५ दिनको सीमा तोकिएको मोरङका सीडीओ युवराज कट्टेलले जानकारी गराए ।

उनले भने, ‘घटनाका विषयमा छानबिन गर्न समिति बनेको छ । समितिले प्रतिवेदन बुझाएपछि थप कुरा भन्न सकिन्छ ।’

प्रदेश सरकार मातहतमा रहेको विश्व विद्यालयमा मनमोहन प्रतिष्ठानमार्फत ती पुस्तक आएका थिए । स्व। भरतमोहन अधिकारी प्रतिष्ठानको अध्यक्ष हुँदा नै स्थानीय संघ संस्थालाई वितरण गर्नेगरी ती किताब तत्कालीन मनमोहन पोलीटेक्निक इन्ष्टिच्युटमा आएको बताइएको छ ।

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले धेरै किताबहरू वितरण भएको र बाँकी किताब अहिले पनि सुरक्षित रहेको दाबी गरे । उनले पानीले भिजेका र धमिराले खाएका किताबहरू फोहोर जलाउने क्रममा जलेको हुनसक्ने बताए । विश्वविद्यालय संरक्षण समितिले पनि ३ सदस्यीय छानबिन समिति गठन गरेको उनले बताए ।