एकअर्कालाई दाेषाराेपण नगराै: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अहिले इतिहासकै कठिनतम बिन्दुमा रहेको बताएका छन्। उनले पार्टीभित्रका नेताहरूबीच आरोप प्रत्यारोप चल्न थालेपछि एकअर्कालाई दोषारोपण नगर्न आग्रह समेत गरेका छन् ।

उनले भनेका छन्, ‘एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो । तर यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ । यसका धेरै कारणहरू छन् । आन्तरिक छन् । बाह्य पनि छन् । ती मध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान् ।’

उनले कतिपय नीतिगत, संरचनागत, शैलीगत कारणहरूको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

उनले थपेका छन्, ‘यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ । यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान हामीलाई मार्गदर्शन गर्ने छ । समीक्षा गरिएन, यो यस्तै हो भनियो या अरूलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ । तर बृहत्तर अर्थमा यो कम्युनिस्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो ।’

समस्या र सङ्कटलाई सामूहिकतामा बोध गरेर निर्मम आत्मसमीक्षा गरेर सामूहिक निर्णयलाई स्थापित गर्नुपर्ने बताए।