काठमाडौं । इरानसँगको युद्धमा संलग्न एक अमेरिकी सैन्य ‘रिफ्युलिङ’ विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार घटनापछि उद्धार कार्य जारी छ ।
सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेको विमान हवाइ इन्धन भर्न प्रयोग गरिने केसी–१३५ ट्यांकर हो। यो घटना अमेरिकी सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’का क्रममा भएको बताइएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले उक्त दुर्घटना शत्रुपक्षको आक्रमण वा आफ्नै सेनाको अन्जानबसको प्रहारका कारण नभएको स्पष्ट पारेको छ।
सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा दुईवटा विमानहरू संलग्न थिए । एउटा विमान सुरक्षित रूपमा अवतरण गर्यो भने अर्को पश्चिमी इराकमा दुर्घटनाग्रस्त भयो ।’
सेनाका अनुसार दुर्घटनामा परेको विमान पूर्ण रूपमा नष्ट भएको छ भने उद्धार कार्य जारी छ।
‘थप विवरणहरू संकलन गर्न र सेवामा रहेका सदस्यहरूको परिवारलाई स्पष्टता प्रदान गर्न हामी निरन्तर धैर्यताको लागि अनुरोध गर्दछौँ,’ सेन्ट्रल कमान्डले भनेको छ।
एसोसिएटेड प्रेसका अनुसार नाम नछाप्ने सर्तमा एक अमेरिकी अधिकारीले घटनामा संलग्न दोस्रो विमान पनि केसी–१३५ रिफ्युलिङ ट्यांकर नै रहेको बताएका छन्।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानविरुद्धको अमेरिकी अभियानमा सार्वजनिक रूपमा जानकारीमा आएको यो चौथो विमान क्षति हो।
यसअघि सोही क्षेत्रमा जारी लडाइँका क्रममा कुवेती सेनाको अन्जानबसको प्रहारबाट तीनवटा अमेरिकी एफ–१५ई स्ट्राइक ईगल लडाकु विमान खसालिएका थिए। ती विमानमा रहेका सबै ६ जना चालक दलका सदस्य विमानबाट सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।
पेन्टागनका अनुसार यस द्वन्द्वमा अहिलेसम्म सात अमेरिकी सैनिक मारिएका छन् भने करिब १४० अमेरिकी सेवा सदस्य घाइते भएका छन्। घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको बताइएको छ।










प्रतिक्रिया