मकवानपुर एमाले अध्यक्षले दिए राजिनामा, केन्द्रीय नेतृत्वले पनि राजिनामा दिन आग्रह

प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि पार्टीभित्र जिम्मेवारीबारे बहस सुरु भएको छ। यसैक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै पोखरेलले जनमतको सम्मान र पार्टीले प्राप्त गरेको नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन्। साथै उनले पार्टीको केन्द्रीय नेतृत्वलाई पनि जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनका लागि बाटो खुला गर्न आग्रह गरेका छन् ।

पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिलेको परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्। नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’

उनले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले स्टाटसमा लेखेका छन्।

पार्टीलाई सुदृढ बनाइराख्न यथार्थ स्वीकार गर्दै जिम्मेवारी लिनुपर्ने समय आएको उनको भनाइ छ। पदबाट राजीनामा दिए पनि आगामी दिनमा पार्टीमा आउने युवा पुस्तालाई आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

यसैबीच, आफूलाई प्राप्त सहयोग, माया र सद्भावप्रति आभार व्यक्त गर्दै पोखरेलले प्रतिनिधि सभामा निर्वाचित सबै सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन्।