आफ्नाे कर्तव्य पूरा भएकाे भन्दै यसरी खुसी भईन प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि आफ्नो कर्तव्य पूरा भएको बताएकी छिन् ।

यो निर्वाचन पछिल्ला केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि भइरहेको हो। गत सेप्टेम्बरमा भएको ‘जेनजी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएको थियो भने प्रतिनिधिसभा विघटन गरिएको थियो। त्यसपछि भदौ २७ मा कार्कीलाई अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको थियो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको बताएकी छिन्।

यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका छ हजार ५४१ उम्मेदवारको भाग्य तय गर्नेछन्। २०७९ को निर्वाचनको तुलनामा करिब नौ लाख १५ हजार नयाँ मतदाता थपिएका छन्।

कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको हिस्सा ५२ प्रतिशत रहेको बताइएको छ। उम्मेदवारमध्ये तीन हजार ४०६ जना प्रत्यक्ष प्रणालीबाट प्रतिस्पर्धामा छन् भने बाँकी समानुपातिक प्रणालीतर्फ छन्।

प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ सिटका लागि ६५ दलका दुई हजार २६३ उम्मेदवार र एक हजार एक सय ४३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

लैङ्गिक प्रतिनिधित्व भने अझै असन्तुलित देखिएको छ। कुल उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र तीन सय ८८ महिला छन् भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन्।

समानुपातिकतर्फ ११० सिटका लागि ६३ दलले तीन हजार १३५ उम्मेदवारको सूची बुझाएका छन्, जसमा पुरुष र महिला बराबरी संख्यामा छन्।

निर्वाचन सुरक्षाका लागि देशभर १० हजार ९६३ मतदान केन्द्रमा तीन लाख ४१ हजार ११३ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये एक लाख ४९ हजार अस्थायी ‘निर्वाचन प्रहरी’ रहेका छन्।

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा परिषद् बैठकले यस बपटकको निर्वाचन विगतको तुलनामा अझ पारदर्शी हुने निष्कर्ष निकालेको थियो ।