कम्युनिस्टहरुका लागि झापा पवित्र स्थल: याेगेश भट्टराई

काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताएका छन् ।

आज झापा-५ को कमल गाउँपालिका  गेउरियामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गरे । ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ’, उनले भने ।

ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उनले स्पष्ट पारे । उनका अनुसार यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ । ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो’,  उनले भने ।

उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राखे। अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उनले जोड दिए ।

पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उनले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।