इजरायल र इरानबीच युद्ध सुरु, त्यहाँ रहेका नेपालीहरुकाे हाल के हाेला ?

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेपछि इजरायलमा रहेका नेपाली कामदारको सुरक्षा चिन्ता बढेको छ।आज (शनिबार) बिहान अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेको बिबिसी र सिएनएनले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, इजरायलमा साढे पाँच हजारभन्दा धेरै नेपाली कामदार कार्यरत छन् भने इरानमा करिब १० जना नेपाली रहेका छन् । उनीहरूले घटनाक्रम नजिकबाट निगरानी गर्दै नेपाली नागरिकसँग सम्पर्कमा रहेको बताए।

तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले माघ १८ गते ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सल्लाह दिएको थियो। इरान जाने योजना बनाएका नेपालीलाई भ्रमण स्थगन गर्न पनि आग्रह गरिएको थियो।

इजरायलमा भने केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने साढे पाँच हजारभन्दा बढी नेपाली कामदार छन् । मन्त्रालयले उनीहरूलाई सुरक्षित रहन, सतर्क रहन, स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न र समस्या भए तत्काल सम्पर्क गर्न भनिएको जानकारी दिएको छ ।