पर्यटकीय हब बन्दै च्याङ्गे पाेखरी

काठमाडौँ ।  भोजपुरको पौवादुङ गाउँपालिका क्षेत्रमा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ। पोखरीको संरक्षण र यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको गाउँपालिकाले जनाएको छ।

पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई संरक्षण गर्दै गाउँपालिकाले पर्यटकका लागि पूर्वाधार निर्माण गरेको छ। आन्तरिक पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले दुई साना पानीबोट सञ्चालनमा ल्याइएपछि क्षेत्रको आकर्षण झनै बढेको छ।

यही क्रममा ‘पञ्चकन्या स्मृति उद्यान’ निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनाहरू पनि तयार गरिएको छ। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार पोखरी र उद्यानलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने काम निरन्तर भइरहेको छ।

उद्यानमा वृक्षरोपण, विश्रामस्थल र फलैँचा जस्ता पूर्वाधार विकासको कामहरू भइरहेको र पोखरीलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि शैक्षिक अवलोकन स्थलका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माणको प्रक्रिया पनि जारी छ।

स्थानीयबासी सावित्रा फुयालका अनुसार पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका छन्। स्थानीय कथनअनुसार प्राचीन कालमा च्याङ्ग्रा जनावरहरू पोखरीको पानी पिउन आउने र दिनभर आराम गर्ने भएकाले पोखरीलाई ‘च्याङ्ग्रे पोखरी’ नाम दिइएको हो। स्थानीयवासी भन्छन्, पोखरीको पानी खडेरीमा पनि कहिल्यै नसुक्ने विशेषता छ।

पोखरीको नाममा च्याङ्ग्रे बजार पनि रहेको छ। विश्राम, घुमफिर, तस्बिर खिच्न र दृश्यावलोकनको आनन्द लिन पर्यटकहरू यहाँ नियमित रूपमा आउने गरेको स्थानीयबासी राम पुलामी मगरले बताए। संरक्षणपछि क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको उनको भनाइ छ।

विभिन्न पूजाआजामा पोखरीको छेउमा रहेको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने गरेको स्थानीयबासीले बताएका छन्। ऐतिहासिक र धार्मिक महत्वको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने उनीहरूको विश्वास रहेको छ।