गौरीगञ्ज । झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त जाँदै नजाने बताएका छन् । बुधबार गौरीगञ्ज ५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफुहरुले विगत देखिनै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए ।
स्थानीय होवोदेवी राजवंशीले भने, ‘हामी त जुग देखि एमाले हो । सुर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सुर्यमै हाल्ने हो ।’ उनले यस क्षेत्रमा बाटो विस्तार गरि बिजुलीको सेवा सहज बनाई दिन ओली समक्ष आग्रह गरे । यस्तै सोहि ठाउँका किरण गनगाईले बाटो, बिजुली केहि नभएको ठाउँमा ओलीलेनै विकास गर्नु भएको भन्दै बाँकि विकासको जिम्मा लगाउन पनि सुर्यमानै भोट हाल्ने बताए । ‘अरु कस्ले गर्छ र जिताउनु ?’ उनले भने, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने ।’ रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गरे । सिमावर्ती गौरीगञ्जको सो गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लास पूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरुले समेत ओलीसँग मातृभाषामा समेत साक्षातकार गरेका थिए ।










प्रतिक्रिया