धादिङमा बस दुर्घटना, १७ काे मृत्यु २४ घाइते

काठमाडौं । धादिङमा आज बिहान भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा आज बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटना भएकाे हो ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।