दाङ । जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
हिजाे राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रमकाे रहेको थियाे ।
घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न तथा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।










प्रतिक्रिया