रास्वपालाई माफी माग्न एमालेको आग्रह, अराजकता मच्चाए प्रतिवादमा उत्रिने कडा चेतावनी

काठमाडौं । नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई माफी माग्न आग्रह गरेको छ ।

हिजो साझ दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएकोमा निन्दा व्यक्त गर्दै माफी माग्न आग्रह गरिएको हो ।

युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै आफूहरू आलोचना स्वीकार्ने तर अवरोध, अराजकता र उच्छृंखलता नस्वीकार्ने बताएका छन् । रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न युवा संघले अनुरोध समेत गरेको छ ।

यदि बेवास्ता गरे र यस्ता गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।