काठमाडौं । रास्वपाले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ ।
रास्वपा रुपन्देही सभापति मधु अर्यालले तत्काललाई सभा स्थगित गर्ने निर्देशन आएकोले सभा स्थगित गरेको बताए । दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्न सक्ने आँकलनबीच सभा स्थगित गरिएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । रास्वपा बिहीबार नै पत्रकार सम्मेलन गरेर १ लाख सहभागी जुटाउने जनाएको थियो ।
एमालेको युवा फोर्सले आफ्नो झण्डा जलाएको भन्दै प्रतिकार गर्ने घोषणा गरेको छ । चुनावी सभाका लागि रास्वपा सभापति रवि लामिछाने आज दाङमा छन् । त्यहाँको कार्यक्रम सकेर उनी भोलि रुपन्देही आउने तयारीमा थिए ।
दाङ र रुपन्देहीको सभामा आउने गरी सुर्खेत आएका वरिष्ठ नेता बालेन साह हिजो राति बिरामी भएको भन्दै नआई काठमाडौं फर्किएका छन् ।











प्रतिक्रिया