काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो पार्टीको लक्ष्य रहेकाे बताएका छन् ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आज आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता वा पद हेर्दैन। जोसुकै, सभापति होस् वा कुनै पदमा रहेका व्यक्ति, यदि भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन।’
उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचारको छानबिन गर्ने कुरा पनि सार्वजनिक गरे । साथै, थापाले सरकारी सेवा प्रणालीलाई कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित बनाउनु पर्नेमा जोड दिए ।
सभापति थापाले भने, ‘कुन काम कति समयमा सकिन्छ भन्ने समयभित्रै सम्पन्न हुनुपर्छ। यदि ढिला भयो भने नागरिकले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था हुनुपर्छ। सार्वजनिक सेवामा केही एक दिनमा बनाइने भनियो भने त्यसै दिनमा सम्पन्न हुनुपर्छ।’
उनले कांग्रेसले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४ सै घण्टा उपलब्ध गराउने र सेवा ढिला भएमा नागरिकलाई क्षतिपूर्तिसहितका व्यवस्था योजनाबद्ध रूपमा अघि सारेको जानकारी दिए ।










प्रतिक्रिया