चुनवाङ पुगेर भावुक बने प्रचण्ड

रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङ गाउँमा आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा वातावरण भावुक बनेको थियो । यो गाउँ नेपाली राजनीतिमा जनयुद्धबाट शान्तिपूर्ण राजनीतितर्फको महत्त्वपूर्ण मोडको साक्षी हो ।

झन्डै तीन दशकअघि २०६२ असोजमा तत्कालीन माओवादीको केन्द्रीय समिति बैठकले ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौँ’ भन्दै सात दलसँग सहकार्यको बाटो खोलेको थियो । यो बैठकलाई माओवादी पक्षले राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार मान्छ ।

सशस्त्र सङ्घर्षका सुप्रिम कमान्डर प्रचण्ड आफ्नो पुरानो आश्रयस्थल चुनवाङ पुग्दा भावविह्वल भए । उनी र पत्नी सीता दाहाल बसेको कोठा, छोरा प्रकाश दाहाल लगायत सहयोद्धाहरू बसेका घर अवलोकन गरे । अहिले सीता र प्रकाश दुवै नहुँदा प्रचण्डले आँसु रोक्न सकेनन् ।

केहीबेर गीत गुनगुनाउँदै प्रचण्डलेउनले भने, ‘नेपाली क्रान्तिमा उहाँहरूको योगदान र यो भूमिको महत्त्व मेरो जीवनमा सधैँ अमिट छ ।’ प्रचण्ड फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार छन् । 

मतदाता भेटघाटका क्रममा उनले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’ भएको बताएका छन् ।  चुनवाङ बैठकले जनयुद्धलाई शान्तिपूर्ण बाटोमा डोर्‍याएको र जिल्लाले नेपालको आमूल परिवर्तनमा गौरवशाली इतिहास रचेको प्रचण्डले बताए । तीन दिनदेखि जिल्लामा रहेका प्रचण्ड शनिवार चुनवाङको गैरीगाउँ र पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा पुग्ने कार्यक्रम छ ।