अरनिकाे यातायात अनिश्चितकालीन बन्द

काठमाडौं । अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने आफ्ना सम्पूर्ण क्युका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सुरक्षा जोखिमको कारण देखाउँदै अरनिको यातायातले काठमाडौं खुर्कोट हुँदै मन्थलीसम्म आफनो बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

आज एक सूचना जारी गर्दै रामेछाप मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको जनाएको छ ।

सूचनामा भनिएकाे छ, ‘नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाण्डौं खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरु सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.-६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण ब्यवसायी, मजदुर, कर्मचारीहरुमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ ।’

गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सुरक्षाको कारण देखाउँदै अरनिको यातायातले सेवा स्थगित गरेको जनाएको छ ।