पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत

काठमाडौं । झापाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै राजावादीहरूले पूर्वराजालाई स्वागत गरेका हुन् ।

पूर्वराजालाई स्वागत गर्ने राजावादीको योजनालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरेको थियो ।

आज सो क्षेत्रमा राजावादीहरुको बाक्लो उपस्थिति रहेकाे छ । यस्तै बाक्लै संख्यामा प्रहरी परिचालित थिए । तर पूर्वराजाको स्वागतका लागि जम्मा भएको भिडलाई प्रहरीले कुनै दक्खल दिएन । भिडमा धेरैले राष्ट्रिय झण्डा बोकेका थिए ।

राजावादी अभियन्ता दुर्गा प्रसाईँ विमानस्थल भित्रै पूर्वराजाको स्वागत गर्न पुगेका थिए । राप्रपाले पनि सर्वसाधारणलाई स्वागतमा उपस्थित हुन अपिल गरेको थियो, तर राप्रपाका प्रमुख नेताहरू भने विमानस्थलमा देखिएनन् । पूर्वराजाले कारको सनरुफबाट समर्थकहरुलाई हात हल्लाएर अभिवादन गरे ।

समर्थकहरूको भिडले पूर्वराजालाई निर्मल निवाससम्म साथ दिएको थियो । उनीहरूले राजसंस्थाको पक्षमा नारावाजी समेत गरे । गत वर्ष पूर्वराजा पोखराबाट आउँदा खेरि गरिएको स्वागतजस्तो भिडभाड भने यस पटक देखिएन ।