काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र रहेका कमजोरीहरूलाई खुला हृदयले स्वीकार गर्दै कांग्रेस नयाँ ढङ्गले अघि बढ्ने बताएका छन्।
कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका थापाले कमजोरी सच्याएर पार्टीलाई अगाडि बढाइने स्पष्ट पारेका हुन् । विशेष महाधिवेशनपछि पहिलो पटक विराटनगर आएका थापालाई स्वागत गर्न डा. शेखर कोइराला समेत उपस्थित भएका थिए ।
कार्यक्रममा थापाले भने, ‘ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर पार्टीलाई नेपाली काँग्रेसमा शुद्धीकरण हुन्छ।’
उनले विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनेलाई मात्र ठूलो सफलता ठान्ने गल्ती भएको स्वीकार गरे। थापाले भने, ‘सत्ता प्राप्तिका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता निष्ठावान् नेताहरूले बनाएको पार्टीको छविमा आँच पुगेको छ। अब हामी त्यसो हुन दिन्नौँ।’
थापाले कम्युनिस्ट पार्टीहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको बताए। अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोजेर ती संस्थाहरूको गरिमा कमजोर बनाउने कार्यमा कांग्रेस पनि कतै न कतै दोषी रहेको उनको भनाइ छ।
उनले भने, ‘कायरले मात्र आफ्नो कमजोरी लुकाउँछ, तर साहसीले गल्ती स्वीकार गरेर अघि बढ्छ। हामी गल्ती नदोहोर्याउने संकल्पका साथ नागरिकको माझमा नयाँ भरोसा लिएर जानेछौँ।’
कांग्रेस बदलिएको भन्ने कुराले मात्र जनतामा उत्साह नआउने उल्लेख गर्दै थापाले अब कार्यकर्ताहरूले कांग्रेस बदलिँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने ठोस उत्तर लिएर टोल–टोलमा पुग्नुपर्ने बताए।
मुलुकलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वमा पर्न नदिने मुख्य आधार वर्तमान संविधान भएको उल्लेख गर्दै उनले संविधानको रक्षा र पूर्ण कार्यान्वयनमार्फत नागरिकका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।










प्रतिक्रिया