इभी हाइस दुर्घटनामा चालककाे मृत्यु

बैतडी । सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक शनिबार राति दुर्घटनामा परेको हो ।

सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

सवारीसाधनमा चालकमात्र सवार थिए । दुर्घटनाग्रस्त गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।