झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ ।

झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा–३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन् । सो क्षेत्रमा ६७ मतदान स्थल र १६४ मतदान केन्द्र तोकिएका छन् । झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ देखि ८, बिर्तामोड नगरपालिका–१०, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्छन् ।

झापा–३ मा यसपटक नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) का हरिबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी, नेपालका कर्णलाल राजवंशी, जनमत पार्टीका हरसलाल राजवंशी र नेकपा (माओवादी केन्द्र) का  सन्तोष कटुवाल चुनावी मैदानमा छन् । यस्तै उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीका विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीका जयेन मगर, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीका धर्मलक्ष्मी दुवाल, मङ्गोल नेशनल अर्गनाइजेसनका यामकुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी फागुन ४ देखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको छ । सो अवधिमा मात्रै सभा, जुलुस, घरदैलो, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल उम्मेदवारलाई मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्न अनुमति दिइएको छ ।

हाल उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । कांग्रेस उम्मेदवार राजेन्द्रकुमार घिमिरेले राणा शासनदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म नागरिक अधिकार सुनिश्चित गर्न पार्टीले निर्वाह गरेको भूमिका नै मतदाताको विश्वास जित्ने आधार भएको बताए। 

एमाले उम्मेदवार हरिबहादुर राजवंशीले झापा–३ अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको उल्लेख गर्दै अब एमालेको नेतृत्व आवश्यक रहेको बताए । स्वतन्त्र उम्मेदवार मानप्रकाश सङ्ग्रौलाले संसद्मा वास्तविक किसानको प्रतिनिधित्व नभएकाले आफू किसानको आवाज बनेर संसदमा जाने दाबी गर्नुभयो । किसानका समस्या उठाउनकै लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले सुशासन र स्थिरताका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा झापा–३ बाट राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन ४० हजार ६६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । त्यतिबेला राप्रपाले एमालेसँग तालमेल गरेको थियो । उनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए  । कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले तीन हजार ४६१ मत प्राप्त गरेका थिए । यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । आउँदो निर्वाचनमा प्रत्येक दलको वास्तविक जनाधार कति छ भन्ने कुरा स्पष्ट पार्ने भद्रपुरका स्थानीय बासिन्दा ईश्वर भट्टराई बताउँछन्  ।

विसं २०७९ को निर्वाचनमा झापा–३ मा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बनेको थियो । आयोगको तथ्याङ्कअनुसार कांग्रेसले २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३, एमालेले १९ हजार ४६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ र नेकपा ९माओवादी केन्द्र०ले ७ हजार ५९५ मत प्राप्त गरेको थियो । 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा झापा–३ का २८ वडामध्ये कांग्रेसले १६, एमालेले ४, नेकपा ९माओवादी केन्द्र०ले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ वडामा जितेको थियो बाह्रदशी गाउँपालिका–४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा कांग्रेसले २५ हजार ९४९, एमालेले २१ हजार ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ हजार ८४ र नेकपा ९माओवादी केन्द्र०ले ६ हजार ६८८ मत प्राप्त गरेको थियो । सो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको थिएन ।

झापा–३ बाट २०७४ साल र २०७९ सालमा एमालेसँग गठबन्धन गरेका राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन विजयी भएका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी विजयी भएको थियो । झापा–३ मा २०५६ सालमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका थिए ।