प्रचण्ड ओलीबीचकाे भेटवार्तामा के-के भयाे छलफल ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ।

स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले प्रचण्डलाई अन्य ठाउँमा सहयोग लिएर एमालेलाई झापा, दाङ लगायतका क्षेत्रमा एमालेलाई सहयोगका लागि प्रस्ताव राखेको थिए । जवाफमा संयोजक प्रचण्डले गठबन्धन केही सीमित क्षेत्रमै मात्र केन्द्रित हुनु नहुने धारणा राखेका थिए। उनले निश्चित क्षेत्र होइन, आवश्यकता र सम्भावनाका आधारमा देशव्यापी सहकार्यको ढोका खोल्नुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ। प्रचण्डको यो प्रस्तावपछि ओलीले त्यस ‘अप्सन’प्रति आफू खुला रहेको प्रतिक्रिया दिएको बताइएको छ।

ओली–प्रचण्डको यो भेटलाई २१ फागुन २०८२ मा हुने चुनावी गठबन्धनको ‘वार्मअप’का रूपमा हेरिएको छ। विगतमा एकता, विघटन र तीव्र आरोप–प्रत्यारोपको लामो यात्राबाट गुज्रिएका यी दुई नेताबीच फेरि सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुनु अर्थपूर्ण रहेको नेकपाका एक नेताले बताए ।