पायल्सको शल्यक्रिया गर्दा किशोरीको मृत्यु

काठमाडौं । सर्लाहीमा पायल्सको उपचार गर्ने क्रममा एक किशोरीको मृत्यु भएपछि डाक्टरलाई पक्राउ गरिएको छ ।

लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयमा पायल्सको उपचार गर्ने क्रममा १८ वर्षीया हंशु पासवानको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पायल्सको शल्यक्रिया गर्ने क्रममा किशोरीको अवस्था गम्भीर बनेपछि हतारहतार उनलाई सर्लाहीकै हरिवनमा रहेको नमूना अस्पताल लगिएको थियो ।

तर, नमूना अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले किशोरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले डाक्टरलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।