सर्लाही ४ सुरक्षाको दृष्टिले अति संवेदनशील

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा रहेको छ ।

सर्लाहीका ९२ प्रतिशतभन्दा बढी मतदानस्थल संवेदनशील सूचीमा छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नम्बर ४ मा ८१ वटा मतदानस्थल छन्। यी सबै मतदानस्थललाई सुरक्षाको हिसाबले अति संवेदनशील सूचीमा राखिएको छ।

तीमध्ये केही मतदानस्थलको शनिवार दिउँसो जिल्ला सुरक्षा समितिका पदाधिकारीले निरीक्षण गरेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका पुराना नेता अमरेश सिंह स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए ।
त्यतिबेला कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् ।

सर्लाहीका चार निर्वाचन क्षेत्रमा कुल ३ सय १२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र कायम गरिएको छ । त्यसमध्ये १ सय ५८ वटा मतदान स्थललाई अति संवेदनशील तथा १ सय ३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्लाभरि २३ वटा मतदानस्थल मात्र सामान्य सूचीमा रहेका जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपालभारत सीमा नजिक मतदान स्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा अपराधिक क्रियाकलापका आधारमा सर्लाही ४ का मतदानस्थललाई अति संवेदनशील स्थानमा राखेको हो ।

अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सोहीअनुरुप सुरक्षा घेरामा राखेर भयरहित वातावरणमा निर्वाचन गराउने योजना बनाइएको छ ।

सर्लाही ४ मा एक लाख २१ हजार १२ जना मतदाता छन् । त्यसैगरि सर्लाही १ मा एक लाख ३० हजार ८७१, २ मा एक लाख २५ हजार ३११ र ३ मा एक लाख ३४ हजार ४१२ मतदाता छन् ।

यसपटक सर्लाहीमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । यस निर्वाचनमा सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।