भोजपुर । भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् ।
आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रुपमा यो पेसालाई जीवित राख्दै आएका हुन् । परम्परागत चर्खा तथा होजियारी मेसिनको प्रयोग गरी ऊनी धागोबाट स्विटर, चौबन्दीचोलो, ब्लाउज, मफ्लर, टोपीलगायत कपडा उत्पादन गर्दै आएको रसिला ताम्राकारले बताईन् । विद्यार्थी, स्थानीय बासिन्दा तथा विशेष अर्डरका ग्राहकको मागअनुसार डिजाइन र साइजमा कपडा तयार गर्ने गरिएको उनको भनाइ छ ।
विगतमा भोजपुरमा आधा दर्जनभन्दा बढी यस्ता घरेलु ऊनी उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षहरूमा अधिकांश बन्द भइसकेका छन् । विविध चुनौतीको सामना गर्दै आफूहरूले चार दशकदेखि यही पेसालाई निरन्तरता दिँदै आएको बताईन् ।
“हामीले २०४० सालदेखि निरन्तर यही पेसा गर्दै आएका छौँ”, रसिला ताम्राकारले भनिन्, “पहिला धेरैको रोजगारी बनेको यो पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप जोगाउने उद्देश्यले नै हामी यसमा टिकिरहेका छौँ ।”
‘अजिमा ऊनी वस्त्रालय’ नामबाट सञ्चालन भइरहेको यस उद्योगबाट वार्षिक करिब रु सात लाखसम्मको कारोबार हुने गरेको छ । कच्चा पदार्थ तथा अन्य खर्च कटाएर पनि करिब ५० प्रतिशतसम्म आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । यहाँ उत्पादन भएका ऊनी कपडा उपहारका रूपमा देशका विभिन्न जिल्लासँगै विदेश पनि पुग्ने गरेको हिरामाया ताम्राकारले जानकारी दिईन् । उद्योग सञ्चालनका लागि धागो तथा अन्य कच्चा पदार्थ धरान, इटहरीलगायत सहरबाट ल्याइने गरिएको छ ।
स्थानीय तहबाट प्रवद्र्धन, सीप हस्तान्तरणका कार्यक्रम तथा बजार व्यवस्थापनमा सहयोग भएमा परम्परागत घरेलु उद्योगले रोजगारी सिर्जना गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पुग्ने यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।










प्रतिक्रिया