पर्वत । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना रहेका छन् ।
यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ रहेका थिए । अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा दुई हजार ८१७ जना बढी भएका हुन् ।
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन् । त्यसैगरी, जलजला गाउँपालिकामा १६ हजार ७५०, पैंयूमा ११ हजार ६६७, महाशिलामा आठ हजार ४७९, मोदीमा २० हजार ३०१ र विहादी गाउँपालिकामा ११ हजार १५९ मतदाता कायम भएका छन् ।
आगामी निर्वाचनका लागि जिल्लामा ७६ मतदातस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिए । आगामी निर्वाचनका लागि पर्वतमा दुईवटा मतदानस्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं ८ फर्सेको शिव माविमा गरी दुई मतदानस्थल थप गरिएको होभने तीन मतदान केन्द्र पनि थप गरिएको छ ।
कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदानस्थलमा १४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ मतदानस्थलमा १५१ मतदान केन्द्र रहने भएको सूचना अधिकारी शर्माले बताए ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको सूचना अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग भएका सामान खरिद गर्ने तयारी भइरहेको जानकारी दिए । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित काम भइरहेको उनले बताए ।










प्रतिक्रिया