काठमाडौं । अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् ।
चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘SMC’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए ।
यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के.सी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन् । उनीहरूलाई काठमाडौंको ठमेल, टोखा, तारकेश्वर तथा रुपन्देही र पर्साका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएको प्रहरीको भनाइ छ । ती २५५ जनाबाट १२ करोड ८ लाख १६ हजार ३७२ रूपैयाँ बराबरको ठगी गरिएको छ ।
यो समूहले चितवनको विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको दाबी गर्दै सर्वसाधारणलाई विश्वासमा लिने गरेका थिए। उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने लालच देखाउँथे ।
पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन र मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।










प्रतिक्रिया