–लोकबहादुर टण्डन
काठमाडौँ । नेपालमा पछिल्ला दशकहरूमा निजी क्षेत्रबाट अस्पताल सञ्चालन तीव्र रूपमा विस्तार भएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सीमित क्षमता, बढ्दो जनसङ्ख्या र स्वास्थ्यप्रतिको सचेतनाले निजी अस्पतालहरूको भूमिकालाई महत्वपूर्ण बनाएको छ ।
२०४० सालपछिको उदारीकरण नीतिपछि निजी क्षेत्र स्वास्थ्य सेवामा प्रवेश गर्न थालेको हो । राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई प्रवर्द्धन गरेपछि स्वास्थ्य क्षेत्रमा निजी सहभागिता बढेर गएको छ । शुरुमा नर्सिङ होम र साना क्लिनिकबाट सुरु भएको निजी क्षेत्रको लगानी अहिले बहुविशेषज्ञ अस्पतालसम्म पुगेको छ ।
अहिले पनि भारतका एपोलो, मेदान्तजस्ता अस्पतालमा ५१ प्रतिशत विरामी नेपालबाट गएकाहरु नै हुने गरेको तथ्याङ्क छ । थाइल्याण्ड, सिंगापुरलगायतका अन्य मुलुकहरुमा पनि उपचारका लागि जानेहरुको सङ्ख्या पनि बढिरहेको छ । शिक्षा, स्वास्थ्य र मनोरञ्जनमा वर्षेनि विदेसिने अर्बौं रुपैयाँ नेपालमै रोक्न सरकारले विशेष नीति ल्याउन आवश्यक छ । नेपाली चिकित्सकहरुले जटिलभन्दा जटिल रोगको उपचार र शल्यक्रियाहरु गर्न सक्षम छन् र त्यो सेवा दिन नेपालका निजी अस्पतालहरु तयार छन् ।
अवसरको खोजीमा विदेशमा गएका चिकित्सकहरुलाई स्वदेशमै फर्केर सेवा गर्ने वातावरण तयार गर्न सकिएमा विदेशमा उपचारार्थ जाने बिरामीको सङ्ख्या आधाभन्दा बढी घटाउन सकिन्छ । राज्यले करोडौँ लगानी गरेर सरकारी अस्पतालहरुमा स्थापना गरेका उपकरणहरु राम्ररी सञ्चालनमा आउनै नपाई बिग्रने, विरामीले भरपर्दो उपचार सेवा नपाउने र राजनीतिक दबाब र प्रभावबाट सेवा चुस्तदुरुस्त नहुने समस्या रहँदै आएको छ । विरामीले घण्टौँ लाइनमा बस्नुपर्ने, शय्या पाउनका लागि पनि भनसुन गराउनुपर्ने, एउटै चिकित्सकले एकैपटक धेरै विरामीको उपचार गराउनुपर्ने बाध्यता रहेकाले बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् ।
निजी अस्पतालहरुले आफ्नो क्षमताले भ्याएसम्म गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिंदै आएका छन् । निजी अस्पतालहरु कम्पनी ऐन÷सहकारी ऐनअन्तर्गत दर्ता भएर सञ्चालन भएका हुन्छन् । निजी स्वास्थ्य संस्था सञ्चालन ऐन तथा नियमावली र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तर निर्धारण मापदण्ड–२०७०) ले अस्पताल सञ्चालनका विभिन्न मापदण्डहरु निर्धारण गरेको छ । अहिले प्रदेश सरकार र स्थानीय तहबाट इजाजत अनिवार्य गरिएको छ ।
स्वास्थ्य सेवामा निजी अस्पतालको भूमिका
नेपालको स्वास्थ्य सेवामा निजी अस्पतालहरुको भूमिका महत्वपूर्ण रहेको छ । सरकारी अस्पतालहरुले पनि दिन नसकेको विशेषज्ञ तथा सुपर–स्पेशालिटी सेवा निजी अस्पतालहरुले प्रदान गरेका छन् । निजी अस्पतालहरुमा आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, शल्यक्रिया, आइसियू, एन आइसियू, डायग्नोस्टिक सेवा (सिटी, एमआरआई ल्याब) तथा विशेषज्ञ परामर्श सेवा उपलब्ध छन् ।
आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी स्वदेशमै भरपर्दो र सुलभ स्वास्थ्य सेवा उपलब्ध भएको छ । सरकारी अस्पतालमा पर्ने बिरामीको चाप घटाउन पनि निजी अस्पतालहरुको भूमिका रहेको छ । पछिल्लो समय नेपालमा स्वास्थ्य पर्यटनको सम्भावनालाई पनि बढाएको छ ।
मुलुकको आर्थिक विकासमा निजी अस्पतालहरुको योगदानलाई बिर्सन हुँदैन । आज हजारौँ स्वास्थ्यकर्मी (डाक्टर, नर्स, प्राविधिक) हरुलाई स्वदेशमै रोजगारीको अवसर मिलेको छ । झण्डै दुई लाख स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सञ्चालनमा आउँदा सेवाको पहुँचको विस्तार र विकल्पको अवसर प्राप्त भएको छ । स्वास्थ्य क्षेत्रमा निजी लगानी आकर्षण बढेसँगै पूँजी पलायनको समस्या कम भएको छ ।
अस्पतालहरुबीचको प्रतिस्पर्धाले प्रविधि र सेवाको गुणस्तरमा सुधार आउनुको साथै विरामीले सुलभ र गुणस्तरीय सेवा प्राप्त गर्न सकेका छन् ।
सरकारी नियमन र सहकार्य
सरकारले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी रहेको छ तर यसलाई सरकारी अस्पतालहरुमा मात्रै सीमित गराउँदा आम सर्वसाधारणले लाभ पाउन सकेका छैनन् । सरकारले प्रत्येक व्यक्तिको स्वास्थ्य बीमा गरिदिएर सम्भव हुँदैन । हरे व्यक्तिले आफ्नो बीमा गराउने र जुनसुकै अस्पतालबाट पनि त्यो सेवा लिनसक्ने अवस्था सिर्जना गर्न सकिएमा सरकारलाई आर्थिक भार नपर्ने मात्र होइन, नागरिकले पनि सुलभ ढङ्गबाट सेवा पाउन सक्छन् । सरकारले निजी अस्पतालको शुल्क दर, सेवा गुणस्तर अनुगमन गर्न सक्ने भएकाले नागरिकलाई कसरी जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्नेतर्फ सहकार्य हुनसक्छ । सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार पनि स्वास्थ्य सेवालाई अगाडि लैजान सकिन्छ ।
सामाजिक उत्तरदायित्वको मान्यताअनुसार गरिब, असहाय वर्गका विरामीहरुलाई साधारणदेखि उच्च प्रकृतिका उपचारहरु निःशुल्क गराउने, देशका दुर्गम भेगहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने सामाजिक कार्यहरुमा पनि निजी क्षेत्रका अस्पतालहरुको योगदान कम छैन । गोरखा भूकम्प, कोराना महामारी, जेन्जी आन्दोलनजस्ता ठूला घटनाहरुमा सरकारी अस्पतालहरुले दिन नसकेको स्वास्थ्य सेवा निजी अस्पतालले दिएका थिए ।
यस्ता ठूला विपद्हरुमा आफ्नो ज्यानको पनि पर्बाह नराखी निजी अस्पतालहरु घटनास्थलमै पुगी विरामीको उद्दार, औषधोपचारमा खटिएका हुन्छन् । सरकारले उपयुक्त नीतिगत व्यवस्था र सुरक्षित वातावरण तयार गर्न सकेको अवस्थामा प्रदेश र स्थानीयस्तरमा पनि निजी अस्पतालहरु विस्तार हुन सक्छन् । हाल राजधानीलगायत मुख्य सहरी क्षेत्रमै केन्द्रित रहेका निजी अस्पतालहरु विस्तारै प्रदेश र स्थानीय तहमा पनि विस्तार हुन थालेका छन् । विस्तारै डिजिटल स्वास्थ्य सेवालाई बढाउँदै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुग्नसक्छ ।
निजी अस्पतालका समस्या
नेपालमा निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा लगानी गर्दा सामना गर्नुपर्ने चुनौतीहरू बहुआयामिक छन् । नीतिगत, आर्थिक, सामाजिक र संरचनागत कारणले निजी लगानी अपेक्षित गतिमा विस्तार हुन सकेको छैन । निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा लगानी गर्दा नीतिगत तथा कानूनी अनिश्चितता, कडा र जटिल नियामक प्रक्रिया, उच्च प्रारम्भिक लगानी र लागत, स्वास्थ्य बीमा प्रणालीको कमजोरी, सामाजिक दृष्टिकोण र विश्वासको सङ्कट, मानव संशाधन समस्या, राजनीतिक हस्तक्षेप र दबाबजस्ता चुनौतीहरू सामना गर्नुपरेको छ । स्वास्थ्यसम्बन्धी नीति र नियमहरू बारम्बार परिवर्तन हुनु, सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार क्षेत्र स्पष्ट नहुनु, दीर्घकालीन लगानीमैत्री स्पष्ट नीति अभावजस्ता कारणहरुले पनि स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न समस्या भएको छ ।
दक्ष स्वास्थ्यकर्मीको विदेश पलायन र विशेषज्ञ जनशक्ति सीमित रहने हुँदा निजी क्षेत्रका अस्पतालहरुले पनि मानव संशाधन समस्या भोग्नुपरेको छ । उपचार शुल्कमा स्पष्ट मापदण्ड नहुँदा लागतअनुसार शुल्क लिन नसक्ने अवस्था छैन । निजी अस्पतालहरुलाई महँगो उपचारको आरोप लाग्ने गर्दछ । स्वभावतः सरकारी अस्पतालमा राज्यले वर्षेनी अर्बौं लगानी गरी सेवा दिएको अवस्थामा निजी क्षेत्र आफैँले लगानी गर्नुपर्दा केही महङ्गो हुनुलाई स्वभाविक मान्नुपर्ने हुन्छ । सामाजिक दृष्टिकोण र विश्वासको सङ्कटका कारण निजी अस्पताललाई नाफामुखी रूपमा मात्र हेर्ने प्रवृत्ति छ । लगानीसँगै त्यसको प्रतिफलको अपेक्षा गर्नु अपराध पनि होइन तर सेवा भावबाटै लगानी गरिएको हुँदा नाफामुखी सोचको आरोप लगाउँदा अन्याय भएको छ ।
सरकारी अस्पतालहरुमा मात्र नभई निजी अस्पतालको व्यवस्थापनमा पनि राजनीतिक प्रभाव पर्ने गर्दछ । हडताल, आन्दोलन र आकस्मिक दुर्घटनाजस्ता समस्याहरुबाट पनि निजी अस्पतालहरु प्रत्यक्ष प्रभावित हुने गर्दछन् । सानो गल्तीमा ठूलो सामाजिक दबाब आउने र कहिलेकाहीँ असामान्य अवस्था पनि सिर्जना हुने हुँदा त्यसले डाक्टर र अस्पतालको सुरक्षाको प्रश्न उठ्ने गर्दछ । अस्पताल भवन, अत्याधुनिक उपकरण र प्रविधिमा ठूलो पूँजी आवश्यक पर्दछ । दक्ष जनशक्ति (डाक्टर, नर्स) लाई राम्रो पारिश्रमिक दिनुपर्ने तथा औषधि र मेडिकल उपकरण आयातमा उच्च लागत पर्ने हुँदा लगानी जुटाउन त्यति सहज छैन । शहर केन्द्रित चिकित्सकको सङ्ख्या बढी, भौगोलिक कठिनाई र पूर्वाधारको अभाव, ग्रामीण क्षेत्रमा बिरामी सङ्ख्या कम र खर्च बढी तथा सुरक्षाको चुनौतीका कारण दुर्गम क्षेत्रमा निजी लगानी बढ्न सकेको छैन । त्यस्तै अस्पताल दर्ता, नवीकरण र स्तर निर्धारण प्रक्रिया झन्झटिलो, बहु–निकायबाट अनुमति लिनुपर्ने अवस्था, अनुगमन प्रणाली स्पष्ट र पारदर्शी नहुनुजस्ता कडा र जटिल नियामक प्रक्रियाका कारणले पनि समस्या सिर्जना गरेको छ ।
निजी अस्पतालहरु सञ्चालनका लागि नेपाल सरकारले केही नयाँ शर्त र प्रावधानहरु ल्याएको छ । सरसर्ती हेर्दा ती राम्रा लागे पनि अव्यावहारिक र अन्ततः विरामीलाई नै आर्थिक भार थपिने खालका छन् । निजी अस्पताल खोल्न आफ्नै भवन हुनुपर्छ भनिएको छ तर अहिले सञ्चालनमा रहेका ८५ प्रतिशतभन्दा बढी निजी अस्पतालहरु भाडाको भवनमा सञ्चालित छन् । यो प्रावधान कडाइका साथ लागू हुने हो भने ती सबै अस्पतालहरु बन्द हुन्छन् । सरकारले अहिले निजी अस्पतालहरुलाई आफ्नै भवन बनाउन छ वर्षको अवधि दिएको छ, यो समय निकै अप्रयाप्त हुन्छ किनकी अस्पतालको भवन बनाउन जग्गाको बन्दोबस्तदेखि विशेषखालको भवनको संरचना बनाउनुपर्ने हुँदा लगानी र समयको हिसाबले त्यति सहज हुँदैन ।
निजी अस्पतालहरुले उपचार शुल्क कति तोक्ने भन्ने यसले प्रयोग गर्ने अत्याधुनिक उपकरणहरु, विज्ञ जनशक्तिको सेवामा निर्भर हुन्छ । स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा विरामीले दुई पैसा महंगो पनि तिर्न तयार हुन्छ तर यहाँ अस्वस्थ प्रतिस्पर्धा छ । पछिल्लो समय समाजमा बढेको अनुशासनहीनता र अराजकताको शिकार खासगरी निजी अस्पतालहरु बननु परेको छ । कुनै पनि डाक्टरले बिरामीलाई बचाउनैका लागि अन्तिम समयसम्म प्रयास गरेको हुन्छ तर सबै बिरामीको रोग निको नहुनसक्छ र यसको मृत्यु भएमा आफन्तहरुले डाक्टरहरुमाथि आक्रमण गर्ने अस्पताल तोडफोड गर्ने पव्रवृत्त बढ्दै गएको छ । यसले गर्दा डाक्टर र निजी अस्पतालहरुले असुरक्षित अनुभव गरिरहेका छन् । विश्वका अन्य देशहरुमा राज्यले पूर्ण सुरक्षाको प्रत्याभूति दिएको हुन्छ । ती देशहरुमा पनि उपचार गर्दागर्दै विरामीको मृत्यु हुन्छ तर यसलाई मुद्धा बनाएर कुटपिट, तोडफोड गर्ने काम हुँदैन ।
निष्कर्ष
निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु सरकारी अस्पतालका प्रतिस्पर्धी नभएर स्वास्थ्य प्रणालीको पूरक संरचना हुन् । उचित नियमन, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नसके निजी अस्पतालहरूले नेपालको स्वास्थ्य सेवा गुणस्तरीय, पहुँचयोग्य र दिगो बनाउन महत्वपूर्ण योगदान दिन सक्छन् । निजी क्षेत्रलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न प्रेरित गर्न नीतिगत स्थिरता, सरल नियमन, बिमा प्रणाली सुदृढीकरण र सार्वजनिक–निजी सहकार्य अत्यावश्यक छ ।










प्रतिक्रिया