समानुपातिक उम्मेदवारका विषयमा छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगले दलहरूबाट प्राप्त बन्दसूचीको अध्ययन गरी नाम सहि-गलत भए नभएकाे हेर्न थालेको हाे ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कानुनअनुसार क्लस्टर मिलाउने र उम्मेदवारको नामको समावेशरअसमावेश जाँच्ने काम सुरु गरिएको हो । आयोगले पुस २० गतेसम्म प्रारम्भिक अध्ययन पूरा गरी दलहरूलाई पत्राचार गर्नेछ।

भट्टराईका अनुसार दलहरूले पुस २७ गतेसम्म आवश्यक संशोधन गर्न सक्नेछन् । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पुस २८ गतेसम्म समय पाउनेछन् । नाम फिर्ता लिएपछि खाली स्थानमा सोही समूहको अर्को उम्मेदवारको नामावली पेश गर्ने समय पुस ३० गते तोकिएको छ ।

आयोगको कार्यतालिका अनुसार, माघ ४ गते उम्मेदवारको बन्दसूची प्रारम्भिक रूपमा प्रकाशित हुनेछ। माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धी दावी–विरोधको निवेदन दिने व्यवस्था छ । माघ ११ देखि १७ गतेसम्म आयोगले निवेदनको जाँचबुझ गरी निर्णय गर्नेछ ।

अन्तिम उम्मेदवारको बन्दसूची माघ २० गते प्रकाशन हुनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने तालिका तय गरिएको छ ।