काठमाडौं । अन्तरिम सरकारकाे नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरबाट आलोचना खेप्ने अचानो नभएको बताएकी छन् ।
सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेनजी र राजनीतिक दल दुवैतर्फबाट प्रहार भइरहेको बताइन् । विगतका गल्ती र कमजोरीको आवेगका कारण भदौ २३ र २४ गतेका घटना भएको र त्यसको असर आफूहरूले सहिरहेको उनको भनाइ छ ।
उनले मुलुकका लागि आएका आक्षेप सहन आफूहरू तयार रहेको स्पष्ट पारिन्। राजनीतिक दल देशका सर्वेसर्वा नभई जनता नै सर्वोच्च हुने उल्लेख गर्दै दलहरू जनताको सेवाका लागि रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबिचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन ।’
उनले भदौ २३ र २४ मा भएका हत्या र हिंसाले जनतामा गहिरो प्रभाव पारेको भन्दै जेनजी र युवापुस्ताले के खोजिरहेको छ भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बताइन् ।
‘जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ,’ उनले भनिन्, ‘हामी अचानो होइनौँ । हिजो जे त्रुटि भए, त्यसको आवेग आज हामी झेलिरहेका छौँ ।’
प्रधानमन्त्री कार्कीले आफूहरू जेनजीको रगतमा ऐस आराम गर्न नआएको पनि स्पष्ट पारिन् । विगतमा राजनीतिक दलहरूले मस्ती गरे पनि आफूहरूले कुनै सुविधा नलिएको उनको भनाइ छ ।
सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने ‘कुनै माइकलालले केही गर्न नसक्ने’ उनले जिकिर गरिन् ।










प्रतिक्रिया