किन कुटिए गिरीबाट आशिष ? यस्तो छ कारण

काठमाडौं। जमलस्थित विश्वज्योति हलमा हालै सञ्चालनमा आएको दरबार टप रोधी क्लबमा गएराति कुटपिटको घटना भएको छ। क्लब सञ्चालक अशोक गिरीसँग सम्बन्धित व्यक्तिहरूले नेकपा एमालेनिकट विद्यार्थी नेता आशिष गौतममाथि आक्रमण गरेका हुन्।

साथीहरूसँग क्लब पुगेका गौतमले बियर र हुक्काको बिल नियमअनुसार तिरेर बाहिर निस्किन खोज्दा गिरीका केही सहयोगीले उनलाई ह्यान्डलक गर्दै पछारेर कुटपिट गरेका थिए। आक्रमणबाट गौतमको टाउकोमा चोट लागेको छ।

एक प्रत्यक्षदर्शीका अनुसार कुटपिट भइरहँदा सञ्चालक गिरी नजिकै रहे पनि हस्तक्षेप नगरी हेरेर बसेका थिए। घटनापछि पीडितको उपचारमा सहयोग गर्नुको साटो उल्टै संलग्नहरूले प्रहरी प्रशासनको धम्की दिँदै दम्भ देखाएको आरोप छ।

घटनापछि गौतमका एक साथीले १०० मा फोन गरी प्रहरी बोलाएका थिए। दरबारमार्ग प्रहरी वृत्तबाट पुगेको टोलीले कुटपिटमा संलग्न खगेन्द्र कौडीलाई पक्राउ गरेको छ। उनी हाल प्रहरी हिरासतमा छन्। तर, क्लब संचालक गिरीलाई भने प्रहरीले पक्राउ गरेको छैन।

पीडित गौतमले गिरीविरुद्ध जाहेरी दिएका छन्। यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले गिरीविरुद्ध जोहरी दर्ता भएको बताए । ‘अशोक गिरीविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ, अब कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

गिरी यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्।

कुनैबेला जमलमै अर्कै रोधीघर सञ्चालन गर्ने क्रममा ६ हजारको बिल ६० हजार बनाएर ठगी गरेको आरोपमा उनीमाथि उजुरी परेको थियो। सो घटनामा छानबिन अघि बढाउँदा तत्कालीन डीएसपी गोविन्द थापालाई सरुवाको धम्की दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रहरीका केही उच्च अधिकारीसँग गिरीको नजिकको सम्बन्ध र ‘सेटिङ’ रहेको चर्चा हुँदै आएको छ।

यस बिषयमा गिरीसंग टेलिफोनमार्फत बुझ्न खाेज्दा गौतमले दादागिरी देखाउन थालेपछि हामीले उनलाई बाहिर निकाल्न खाेज्दा कतै ठाेकिएर चाेट पटक लागेको र पछि प्रहरीलाई खबर गरेर मेरै स्टाफलाई पक्राउ गर्न लगाएको आराेप लगाएको छ।