गाेलीकाण्डमा मारिनेकाे संख्या १५ पुग्यो

एजेन्सी । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।आइतबार स्थानीय समयअनुसार साँझ ६ः४७ बजे बोन्डी बीच नजिकैको पार्कमा अज्ञात दुई व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको हो ।

यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् । अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ।

गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् । गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो । न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ ।

प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा पुलबाट दुई जना बन्दुकधारीले पार्कतर्फ लगातार गोली प्रहार गरेको देखिन्छ ।