काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेन–जी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन् ।
आज प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले जनताद्वारा जनताको निम्ति जेन–जी आन्दोलन नभएको बताएका हुन् ।
उनले भने, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो ।
यो परिघटनालाई हेर्दा दुई तिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’
उनले आफूहरूले राजाको हातबाट जनताको हातमा सत्ता ल्याउनको लागि ०६२/६३ को आन्दोलन गरेको स्मरण गरे ।
प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको बादलले आरोप लगाए ।
उनले भने, ‘लोकतन्त्र स्थापना गर्न लागेका सबै राजनीतिक दलहरूको नेतृत्व विस्थापित गरेर प्रतिक्रान्तिलाई स्थापित गर्ने षड्यन्त्र अहिले भइरहेको छ । राजनीतिक दलका शीर्ष नेताहरूलाई सिध्याएर मात्रै प्रतिक्रान्तिलाई वैधानिकता दिने प्रयास हुँदैन ।’
निर्वाचनबाट जेलेन्सकीहरूको सरकार बनाउने प्रयास भइरहेको उनले टिप्पणी गरे । अहिलेको समस्याको निकास संसद् पुनर्स्थापना नभएको बादलको भनाइ छ ।










प्रतिक्रिया