नेकपाको आज धनगढीमा एकता सन्देश सभा हुँदै

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा एकता सन्देश सभा गर्दैछ। नेकपा गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर देखिन लागेको हो।

बिहान साढे ११ बजे धनगढी चौराह र क्याम्पस चोकबाट जुलुसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे आमसभामा परिणत हुने नेता डा. भीम रावलले जानकारी दिए। सभालाई नेकपाका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोज माधवकुमार नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्। यस्तै वामदेव गौतम झलनाथ खनाल लगायत नेताहरुको पनि सहभागिता रहनेछ।

सहसंयोजक नेपालले त्यहाँ २० हजार बढी कार्यकर्ता उतार्ने दाबी गरेका छन्। यद्यपि नेकपा विभाजनपछि नेपाल र भीम रावलका समर्थक समेत नेकपामै आउने अपेक्षा गरिए पनि एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटीले नै नेकपामा नजाने निर्णय गरिसकेको छ।

पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ।