एमालेको महाधिवेशन प्रतिनिध छनोटका लागि पाँच बुँदे निर्देशन

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको प्रतिनिधि छनोटका पाँच बुँदे निर्देशन जारी गरेको छ । हिजो साँझ बसेको संगठन विभागको भर्चुअल बैठकले केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरेको हो ।

संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ ।

यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि निर्देशन दिइएको छ ।

यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न भनिएको छ । विभागको यो निर्देशनअनुसार कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटको कार्यक्रम सार्न पाइने छैन ।

केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्याधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गर्दै उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन जारी गरेको छ ।

प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजिकरण गर्न पनि निर्देशन दिइएको छ ।

मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने एमालेको ११औँ महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन्। एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।