पहलमानसिंह स्वारको साहित्यिक योगदानलाई संस्थागत बनाइनु पर्छ- उपकुलपति डा. जोशी

सुर्खेत । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको सहकार्य र देवकोटा साहित्य कला परिवार टिकापुरको आयोजनामा सनिबार टिकापुरमा १४७ औं पहलमानसिंह स्वार जयन्ती भव्य रूपमा सम्पन्न भएको छ ।


समारोहको उदघाटन गर्दे सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले नेपाली साहित्यका प्रथम मौलिक दुखान्त नाटककार पहलमानसिंह स्वारको कृतित्व र योगदानलाई संस्थागत गर्न प्रतिष्ठानले आवश्यक कदम चाल्ने बताएका छन्। उनले स्वर्गीय पहलमानसिंहले सुदूरपश्चिमलाई मात्रै नभै सिङ्गो राष्ट्रलाई नै विश्व साहित्यमा चिनाएको बताए। पहलमानसिंहका बारेमा थप खोज अनुसन्धान गर्न र उनको योगदानलाई सम्मान गर्न प्रतिष्ठानले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि ब्यक्त गरे।


कार्यक्रममा पूर्व सांसद यज्ञराज पाठकले सुदूरपश्चिमको अछाममा जन्मेर साहित्य मार्फत् सामाजिक क्रान्ति ल्याएका पहलमानसिंहको राज्यले उच्च सम्मान दिनु पर्ने बताए।


कार्यक्रममा पहलमानसिंह स्वारका पनाति वरिष्ठ अधिवक्ता चन्द्रभूषण सिंह स्वारले समाजमा जातीय बिभेद, पितृसत्तात्मक सोच र निरक्षरताको बिरूद्ध स्वर्गीय पहलमानसिंहले आफ्नो लेखनी मार्फत् सुदूरपश्चिम प्रदेशमा चेतनाको लहर फैलाएको बताए।


देवकोटा साहित्य कला परिवार टिकापुरका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा सम्पन्न पहलमानसिंह जयन्ती समारोहमासाहित्यकार धनञ्जय तिमल्सीना, डा. योगेन्द्र बजगाईं, डा. चक्र अधिकारी, टिकापुर नागरिक समाजका अध्यक्ष भीमराम चपाईं, साहित्यकार कण्ठराज गिरी, कर्ण बहादुर थापा लगायतले स्वर्गीय पहलमानसिंह स्वारको कृतित्व र योगदानको स्मरण गरे।


कार्यक्रममा पहलमानसिंह जयन्तीका अवसरमा आयोजित बिबिध साहित्यिक प्रतियोगिताका बिजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि उपकुलपति डा. टीएन जोशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। समारोहमा साहित्यकार, प्राध्यापक, समाजसेवी, कलाकार, तथा संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो।


कार्यक्रममा साहित्यकार धनञ्जय तिमल्सीना र प्राडा मुकुन्द कलौनीको पहलमानसिंह स्वारको व्यक्तित्व र कृतित्व विषयक कार्यपत्र समेत वाचन गरियो।