सशस्त्र प्रहरी बलको ‘ओएण्डएम’ स्वीकृत ः अब सबै शिक्षालयमा दरबन्दी सङ्ख्या समान

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २१५ वटा बिओपी स्थायी हुने भएका छन् । सङ्गठनले हालै गरेको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै यी कार्यालय स्थायी हुने भएका हुन् ।

पहाडी जिल्लामा रहेका आश्रित गुल्म स्थायी भएसँगै कानुनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने सशस्त्र प्रहरी बलका सह–प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए। यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पतालसमेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको सङ्ख्या ३९६ वटा पुगेको डिएसपी थापाले जानकारी दिए । 

साङ्गठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयको स्तरबृद्धि गरी नयाँ संरचना तयार गरिएको सशस्त्रले जनाएको छ । संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणको स्तरबृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन विशेष गण बनाइएको छ । 

यसबाट काठमाडाँै उपत्यकामा शान्ति सुरक्षा कायम गर्न थप सहजता हुनेछ । आठ सय जनाभन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दङ्गा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठुलो सङ्ख्यामा एकै पटक परिचालन गर्न सहजता हुनेछ । 

त्यसैगरी विशिष्ठ व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कुटनीतिक नियोगसमेतको सुरक्षा हेर्ने गरी काठमाडौँ कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नती गरिएको छ । यसबाट ती निकायमा सुरक्षार्थ सोही प्रकृतिका तालिम प्राप्त सुरक्षा फौज परिचालन हुनेछन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सकको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक चिकित्सकले कमाण्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधरणले समेत स्वास्थ्य सेवा पाउने छन् ।  

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानुन महाशाखालाई निर्देशनालयमा स्तरोन्नती गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप गरिएको छ । विपद् व्यवस्थापनको म्याण्डेटलाई थप प्रभावकारी बनाउनको लागि विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरबृद्धि गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थपिएको छ । 

यसैगरी इन्टेलिजेन्स व्यूरोको कामकारवाहीलाई थप प्रभावकारी बनाउको लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकको कमाण्डमा रहने गरी दरबन्दी थप गरिएको छ । व्यूरोमा अब जुनियर अधिकृत तथा सोभन्दा माथिका जनशक्ति मात्र रहने छन् । 

यससँगै सशस्त्र प्रहरी बल नेपालमा तीन जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतीसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसमेतको दरबन्दी थप भएको छ ।  

यसैगरी सशस्त्र प्रहरी बलका १०  तालिम शिक्षालयको दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ । अब सबै शिक्षालयमा दरबन्दी सङ्ख्या एउटै हुनेछ । 

विपद्मा खटिदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारीक निवृत्तीभरण उपलब्ध गराइने ।

सशस्त्र प्रहरी बल नेपालको चौँथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारीक निवृत्तीभरण उपलब्ध गराइने व्यवस्था भएको छ । यसबाट बिपद्मा खटिने सुरक्षाफौजको मनोवल उच्च हुने समेत विश्वास गरिएको थापाले बताए।