कांग्रेस फुटको संघारमा पुगेकै हो त ?

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण पार्टी नै फुट्न लागेको त हैन भन्ने आशंका पैदा गराएको छ । यस कुरालाई कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयमा उत्पन्न मतभेदका कारण उत्पन्न परिस्थितिलाई लिएर दिएको अभिव्यक्तिले पनि पुष्टि गर्दछ । उनले मतभेदले गम्भीर रूप लिन सक्ने भन्दै पार्टी विभाजनको जोखिम बढेको चेतावनी समेत दिएका छन् ।

हिजो पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्न नसके त्यसको परिणामस्वरूप पार्टी फुटको अवस्था आउन सक्ने बताएका हुन् ।

उनका अनुसार विशेष महाधिवेशनको मागसहित करिब ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् । कोइरालाले ती हस्ताक्षरको प्रमाणीकरण प्रक्रिया सुरु भएको दिनदेखि नै कांग्रेसभित्र विभाजनको सम्भावना देखा पर्न सक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत साथीहरूको हस्ताक्षर भइसकेको छ । यदि प्रमाणीकरण प्रक्रिया सुरु भयो भने त्यसै दिनदेखि फुटको खतरा बढ्छ । ४० प्रतिशतले मात्रै अघि बढे पनि बाँकी ६० प्रतिशत अलगिने सम्भावना रहन्छ।’

कोइरालाले महाधिवेशनसम्बन्धी अन्तिम निर्णय पार्टीको केन्द्रीय समितिबाटै आउनुपर्नेमा जोड दिए । उनका अनुसार हस्ताक्षरका आधारमा महाधिवेशन गर्ने सुनिश्चित भए पनि पार्टी एकतालाई प्राथमिकता दिँदै सामूहिक रूपमा निर्णय लिनु उपयुक्त हुन्छ ।

उनले थपे, ‘केन्द्रीय समितिले निर्णय गर्‍यो भने सबै सदस्य महाधिवेशनकै पक्षमा उभिन्छन् भन्ने मेरो विश्वास हो । ५४ प्रतिशतको समर्थन बाध्यात्मक भए पनि विभाजनतिर नजाओस् भनेर हामी बैठककै निष्कर्ष चाहिरहेका हौँ ।’