आजदेखि काठमाडौंमा मेलम्चीको पानी आउने

काठमाडौं । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा आउने भएकाे छ ।

आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी राेकेका थिए ।

वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयम् उपस्थित थिए । उनको संयोजनमा भएको वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरूबीच सहमति जुटेको हो ।