मधेस प्रदेश मुख्यमन्त्रीकाे कार्यलयमा काम गर्ने कर्मचारी पनि कुटिए

जनकपुर ।मधेश प्रदेशको मुख्यमन्त्री कार्याकक्षमा रहेका कर्मचारीमाथि समेत कुटपिट भएको छ ।

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर तोडफोड तथा नारावाजीमा उत्रिएका असन्तुष्ट दलका नेता कार्यकर्ताहरुले मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीलाई पनि कुटपिटमा उत्रिएका हुन ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । र उनको टाउकोमा मुक्का बर्सिन्छ ।

त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् ।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौँ हिँडेकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १६८ को–३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई बर्दिवासको होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । तर यसप्रति असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।