काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा (एमाले) मा प्रवेश गर्दै गरेकी रामकुमारी झाँक्रीले तत्कालीन पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी एकता गरेपछि आफूलाई कारबाही गरेको भन्दै कटाक्ष गरेकी छिन् ।
एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत १० वामको एकता भएपछि बाहिरिएको कारबाहीको पत्रप्रति झाँक्रीले व्यंग्य गर्दै नेपाललाई ‘आफैंलाई लाज हुने कारबाही त नगरेको भए पनि हुने नि !’ भनेकी छिन् ।
झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रिय कमरेड माधव अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो। बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।’
उनले अगाडि लेखेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो- एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुईजना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’
यही कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ। जसमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक छन्।
तर यसमा सहभागी नभएको भन्दै महासचिव घनश्याम भुसालसहित नेताहरू रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान)लाई अध्यक्ष नेपालले पार्टीबाट निष्कासन गरेका थिए।
तर उक्त कारबाही १० वाम दलबीच एकता भइसकेपछि गरिएको भन्दै माधव नेपालको आलोचना भइरहेको छ।
यद्यपि तत्कालीन एकीकृत समाजवादीले कात्तिक १९ गते बिहान नै उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेको छ ।










प्रतिक्रिया