काठमाडौं । व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनकारी दुर्गा प्रसाईँमाथि भारतले विश्वास कम भएको स्पष्ट संकेत गराएका छन् । भारतीय अनलाइन एनडीटीभीमा प्रकाशित समाचारअनुसार भारतले प्रसाईँलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दावी नगर्न चेतावनी दिएको बताईएको छ ।
प्रसाईँ यसै हप्ता क्यान्सर उपचारसँग सम्बन्धित फलोअप मेडिकल भ्रमणका लागि दिल्ली पुगेका थिए । यो पछिल्ला केही हप्तामा उनको दोस्रो भारत भ्रमण हो । प्रसाईँले आफ्नो भ्रमणलाई नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि ‘भारतीय नेताहरूसँग भेटघाट गर्ने र नैतिक समर्थन जुटाउने प्रयास’ का रूपमा सार्वजनिक रूपमा चित्रण गरेका थिए । तर, भारतीय अधिकारीहरूले भने दिल्लीमा उनको गतिविधिमा कुनै संलग्नता वा चासो नरहेकोमा जोड दिएका छन् ।
कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईँको राजनीतिक सक्रियतालाई एक अनावश्यक झन्झटका रूपमा लिएका छन् । अहिले भारत नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपको अनुभूति हुन नदिनमा सचेत छ । एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईँलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’
प्रसाईँले नोभेम्बर २३ (मंसिर ७ गते) का लागि काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर र्यालीको आह्वान गरेका छन् । यसपछि देशव्यापी सडक अवरोध र जनप्रदर्शनसहितको अभियान चलाउने उनको योजना छ । राष्ट्रवादी र गणतन्त्र विरोधी भाषणहरूले राजतन्त्रवादी वृत्तबाट चर्को समर्थन पाए पनि प्रमुख पार्टीहरूबाट भने आलोचना भएको छ ।
दिल्लीका अधिकारीहरू प्रसाईँले भारतीय सहानुभूतिको दाबी गरेकोमा चिढिएका छन् । नेपालसँगको कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, ‘प्रसाईँको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन । उनी नेपालको एक घरेलु पात्र हुन्, उनको गतिविधिमा भारतको कुनै समर्थन छैन ।’
अधिकारीहरूले दिल्लीको नेपाल नीति अहस्तक्षेपमा आधारित रहेको र यसले सानो समूहका आन्दोलनहरूभन्दा नेपालका प्रजातान्त्रिक संस्थाहरूसँगको सहभागितालाई प्राथमिकता दिने दोहोर्याए । नेपालमा प्रसाईँका र्यालीहरू हिंसात्मक बन्ने गरेका छन् । दुवै राजधानी (दिल्ली र काठमाडौं) का विश्लेषकहरू प्रसाईंको बारम्बारको भारतीय समर्थनको दाबी उनको आन्तरिक विश्वसनीयता बढाउने उद्देश्य केन्द्रित मात्र रहेको बताउँछन् ।

                    








प्रतिक्रिया