हिमपहिरोमा परेर घाइते भएका चार जनालाई काठमाडौं ल्याईयो

काठमाडौं । दोलखाको रोल्वालिङ क्षेत्रमा हिजो(सोमबार) गएको हिमपहिरोमा परि घाइते भएका चार जनालाई काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई यलुङ रि हिमालको बेसक्याम्पनजिकैबाट हेलिकप्टरमार्फत उद्दार गरेर उपचारका लागि काठमाडौं ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले घाइते चार जनालाई आज बिहान उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए ।

उनका अनुसार अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको छ ।हिमपहिरोमा परि दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो । उनीहरुको शव अहिले पनि घटनास्थलमै रहेको छ ।
हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ ।

हिम पहिरोमा परेर घाइते भएका चारजना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए । उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो। मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन ।