एमालेसँग एकताका लागि झलनाथकाे चार सर्त

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) सँग पार्टी एकता गर्न चार सर्त अघि सारेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँगै बहुमत पक्ष माओवादी केन्द्रसँग एकता गर्न गएपछि झलनाथका अगाडि एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने वा एमालेसँग एकता गर्ने दुई विकल्प रहेका छन् ।

नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन् ।

खनाल भन्छन्, ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।’

एमालेसँग एकताका लागि खनालले अगाडि सारेका सर्तहरू :
१) मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने- विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।

२) समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने- पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।

३) नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने- मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।

४) देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प- यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।

उनले यी चार बुँदामा एकरूपता भएमा तत्काल वार्ता सुरु गर्ने स्पष्ट पारे।

यद्यपी एमाले अध्यक्ष केपी शर्मा ओलीले भने व्यक्तिगत रुपमा आउनेलाई एमालेमा स्वागत गर्ने तर, समूह बनाएर एकता नहुने स्पष्ट पारिसकेका छन् ।

ओलीले भनेका छन्, ‘कुनै अमुक समूहसँग एकता हुँदैन । उहाँहरू (एकीकृत समाजवादीका असन्तुष्ट) सँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ’ ओलीले बैठकमा भने, ‘अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन । त्यसरी एकता भनेर कसैलाई पनि इन्ट्री गराउन सकिँदैन ।’

एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेपछि सम्मानित नेता खनालसहित महासचिव घनश्याम भुषाल, रामकुमारी झाँक्री लगायतका नेताहरू एकता प्रक्रियामा नजाने निर्णयमा पुगेका हुन् ।

उनीहरुले पार्टी पूर्नगठनका लागि कार्यकर्ता भेला बोलाउने तयारी गरेका छन् । एकीकृत समाजवादीभित्रको यही असन्तुष्टि देखेपछि ओलीले सार्वजनिक रुपमा आह्रवान नै गरेर घर फर्किन भनेका थिए ।

नेता खनालले एमालेलाई आफ्नो ‘जीवनको वैचारिक सन्तान’ बताउँदै भावनात्मक माया रहेको उल्लेख गरे। तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रति भने उनले असन्तुष्टि पोखे।

खनालले पार्टी पुनर्गठनको तयारी गरिरहँदा रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू भने एमालेमा फर्कने तयारीमा छन्