कांग्रेस पार्टी मुख्यालयमा ताला लगाईयो

ललितपुर । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा ताला लगाईएको छ । कांग्रेस सुधार अभियान( अन्डर–४०) ले पार्टी मुख्यालयमा पुगेर सुरक्षा घेरा तोडेर प्रदर्शन गर्दै गेटसम्म पुगेर ताला लगाएका हुन् ।

पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो सुरक्षा घेरा भए पनि प्रदर्शनकारी समूह गेटसम्म पुगेर ताला लगाएको हो । उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्न गेट बन्द गरिएपछि प्रदर्शनकारीहरू बाहिरै बसेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतका नारा लगाएका छन् ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ । त्यहाँ जाँच नगरी कसैलाई पनि प्रवेश दिइएको छैन ।