काठमाडौं । आज दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनी सामाजिक सञ्जालमा घोषणा गरेर अभियन्ता निकोलस भुसाल एकाएक बेपत्ता भएका छन् ।
लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले खोजी गरेपनि उनलाई भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी भुसालको खोजीमा छ । तर, उनी न घर–परिवारको सम्पर्कमा छन्, न त प्रहरीले नै भेटाइसकेको छ । प्रहरी स्रोतका अनुसार उनी भेटिएमा रिह्याव सेन्टरमा पठाउने तयारी रहेको छ ।
उनको खोजीमा काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि सक्रिय छ । उनी बस्ने डेरामा पुग्दा बाहिरबाट साँचो लगाइएको छ, मोबाइलको स्वीच पनि अफ छ । प्रहरीले पारिवारिक सम्पर्कको माध्यमबाट उनको पहिचान गर्न खोज्दा परिवारका सदस्यले पनि आफूहरूको सम्पर्कमा नरहेको प्रहरीलाई भनेका छन् ।
उनले आइतबार अपराह्न २ बजे सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेका छन् । तर, जिल्ला प्रशासनसँग आइतबार त्यहाँ कुनै किसिमको प्रदर्शन वा कार्यक्रमका लागि अनुमति नलिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । ‘अनुमति नलिई कार्यक्रम गर्न पाइँदैन, गरेमा हामी नियन्त्रणमा लिन्छौँ’, उनले भने ।
प्रहरी स्रोतका अनुसार भुसालले प्रदर्शन गर्ने खबरपछि एमालेसम्वद्ध युवा संघ र काठमाडौंका मेयर बोलन साहका समर्थकले उनको प्रतिकार गर्ने योजना बनाएका छन् ।
नशाको तालमा उनले कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिन लागिएको हो प्रहरी स्रोतले जनाएको छ ।
यसअघि गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा उनले गाँजा सेवन गरेको पुष्टि भएको थियो ।
त्यसअघि २०८१ पुस ७ गते पनि उनी पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने हिरासतभित्र बसेको फोटो सार्वजनिक गरेबापत पक्राउ परेका थिए ।










प्रतिक्रिया