घर फर्किनकाे लागि ओलीले ढाेका खाेल्नुपर्छ: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘घर फर्कन’ गरेको आह्वानलाई लिएर  आफू पनि घरमै रहेको जवाफ फर्काएका छन् ।

सुकेधारामा आयोजित आफ्ना पक्षधरहरूको छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीको आह्वानबारे सोधेका थिए । एकीकृत समाजवादीमा विभाजनको संकेत देखिएपछि ओलीले शुक्रवार साँझ पार्टी छाडेकाहरूलाई ‘घर फर्कन’ आह्वान गरेका थिए । सञ्चारकर्मीको प्रश्नमा खनालले भने, ‘हामी कोही पनि जंगलमा छैनौँ, घरमै छौँ ।

उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँहरू व्यवस्थित बनाउनुपर्ने बताए । ओलीको आह्वानलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले चारवटा शर्त अघि सारेका छन् ।’ढोका राम्रोसँग खोलेर उदाङ्गो पार्नुपर्‍यो, बस्ने ठाउँहरू राम्रोसँग बनाउनुपर्‍यो । त्यो भयो भने फर्कन के समस्या भयो र ?’ खनालले भने । 

माओवादी केन्द्रसँग एकता गर्ने पार्टी निर्णयप्रति असन्तुष्ट खनालले कम्युनिष्ट एकता कहिलेकाहीँ टुक्रिएरै सिङ्गो हुने तर्क गरे । ‘कहिलेकाहीँ टुक्रा भएपछि मात्र सिङ्गो हुन्छ । यो सिङ्गो हुनका लागि टुक्रिएको हो । पुनर्गठन र गठन त प्रक्रिया मात्र हो,’ उनले भने, ‘हामी कम्युनिष्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउन छलफल गर्दैछौं ।’